Site icon Anand Khabar

उजाड यो दसैं

विगतलाई सम्झेर अहिले पनि गाउँ सम्झिँदा बहुतै नराम्रो लाग्छ। केही वर्षअघिको गाउँ फिर्ता ल्याउन पाए पनि हुने लागिरहन्छ। हुन त गाउँ त्यस्तै त भएको छ। न त्यो समय छ, न ती साथी, न ती मान्छे। दुर्गम ठाउँमा गाउँ भए पनि धेरै पछिसम्म पनि हाम्रो गाउँमा पानीको अभाव थिएन। घट्टबाट धान मकै कुटेर ल्याएको याद छ। चिउरा कुट्न गाउँभरिका मान्छे दुई घण्टाको बाटो भिजाएको धान बोकेर गएको धेरै भएको छैन।

गाउँमा कसैको बिहे हुँदा टपरी गाँसेर लैजाने, दाउरा काटेर ल्याउने र बारीको पाटामा बसेर लस्कर लागेर भोज खाएको पनि एक दशक पुगेको छैन। तर आज गाउँमा न मान्छे छन्, न यसरी काम हुन्छ। शिशिर ऋतुमा समेत रमाइलो लाग्ने पहाडका डाँडाहरू अचेल झाडी नै झाडीले उराठ बनेका छन्। केवल मृत्युको पर्खाइमा रहेका बूढाबूढी गाउँ कुरेर बसेका छन्, यो देख्दा अचेल पटकपटक मन दुखिरहन्छ।

हिजोको उमेरमा त्यो समयमा बचपनमा मसित खेल्ने साना–ठूला कोही साथी पनि गाउँमा भेटिएनन्। अधिकांश त विदेश गइसके भने स्वदेशमा बस्नेहरू पनि सहरमा छन्। गाउँमा बसिरहँदा लुकीडुम, दौड, फुटबल, चुंगी र एकखुट्टे खेलेका हरेक ठाउँहरू पुनर्ताजगी भए। ठाउँ त त्यस्तै नै छ, अलिकति बढी विकास पुगेको मात्रै हो। तर, ती मान्छे, ती साथी, त्यो भावनात्मक सम्बन्ध भएका व्यक्ति कोही छैनन्। त्यतिका वर्षसम्म आफू खेले, हुर्के र पढेको गाउँमा कोही नभएपछि लाग्यो– भौतिक विकासमा पनि भावना जोडिनुपर्ने रहेछ, भावना नजोडिएको विकास खासै अर्थपूर्ण नहुने रै’छ।सहर–बजारदेखि गाउँबस्तीसम्म पहिले र अहिले धेरै अन्तर आइसकेको छ।

देशको राजनीतिक अवस्था र जनताका पीडाहरू आमन्ने–सामन्ने उभिएका छन्भन्दा हुन्छ। हिजो सहर–बजारले आफ्नो गतिमा विकास क्रममा ध्यान दिइरहेका थिए भने आज दुर्गम क्षेत्रमा पनि उस्तै विकासको दौड चलिरहेको छ। तर, देश खाली छ, रोजगारीको सिर्जना छैन। विकास क्षेत्रमा राम्रो तीव्रता छ तर देशमा युवा शक्ति छैन। रित्तिएका छन् गाउँबस्ती। उजाड हुन लागेका छन् खोलानाला, वनजंगल, नदीनाला, टार, बेंसी, उपत्यका, सबै खाली छन्। हिजो जस्तो छैन, देशको सुन्दरता। जो लोपोन्मुख अवस्थामा पुगिसकेको छ।

Exit mobile version